झापाका चार पालिकामा एक साता लकडाउन

Newslaya Home

झापाका चार पालिकामा एक साता लकडाउन

शनिबार ३१, साउन २०७७

झापा । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहमा लकडाउन गरिएको छ । समुदायमा ५१ जनामा कोरोना सङ्क्रमण भएपछि पालिकाहरु धमाधम लकडाउन हुन थालेका हुन् ।

लकडाउन घोषणा गरिएकामा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आजदेखि एक हप्ताका लागि नगरपालिका लकडाउन गरेको हो ।

मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका चिकित्सक, फुटबल खेलाडीलगायत समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको छ ।

कमल गाउँपालिकाले छिमेकी नगरपालिका दमकमा समुदायमा कोरोना फैलिएको भन्दै आंशिक बन्द गरेको छ । पालिकाले सूचना नै जारी गरेर सातैवटा वडाका जनप्रतिनिधिसहित कर्मचारीको समेत पीसीआर परीक्षण गराउनुपर्ने भएको हुँदा रिपोर्ट नआएसम्म कार्यालय नै नखोलिने जानकारी गराएको छ ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले छिमेकी मेचीनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै लकडाउन घोषणा गर्नुपरेको जनाएको छ । मेचीनगर र अर्जुनधारा नगरपालिकासँग सीमा जोडिएको बुद्धशान्तिले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र पालिकाले तोकेको समयावधिमा मात्र पसल खोल्नसमेत आग्रह गरेको छ ।

यसअघि अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिकाले समेत एक हप्ता लकडाउन गरेका थिए । समुदायमा कोरोना देखिएपछि सङ्क्रमति व्यक्तिसँग सम्पर्कमा आएका २०० बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षणसमेत गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले समुदायमा ४६ जनामा कोरोना सङ्क्रमण देखिएको बताए । जसमा सबैभन्दा बढी सुरक्षाकर्मी छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३६, विर्तामोड नगरपालिकाका एक, दमक नगरपालिकाका छ, मेचीनगरका तीन, बाह्रदशी गाउँपालिकामा दुई जनामा कोरोना पोजिटिभ देखिएको उनको भनाइ छ ।

पन्ध्र पालिका रहेको झापामा समुदायमा कोरोना फैलिएको नगरपालिका तथा गाउँपालिका चार हजार बढीको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।