समाधान भएन खनारको दुर्गन्धित उद्योगको समस्या, प्रदूषण हटाउन माग राख्दा स्थानियमाथि लाठी

Newslaya Home

समाधान भएन खनारको दुर्गन्धित उद्योगको समस्या, प्रदूषण हटाउन माग राख्दा स्थानियमाथि लाठी

शुक्रबार ३०, साउन २०७७

इटहरी । इटहरी-१३ खनारस्थित अरिहन्त अटो कोर्गेसन नामक उद्योगको प्रदूषण अझै नियन्त्रणमा आउन सकेको छैन । प्रदूषण नियन्त्रणका लागि उद्योगले चासो नदेखाउँदा स्थानियहरु पिडित बनेका छन् । सोही क्रममा न्याय माग्न विरोधमा उत्रिएका स्थानिय माथि प्रहरीले आज लाठीचार्ज गरेको छ । स्थानियहरुले उद्योग घेराउ गरी नारावाजी गर्दा स्थानिय र प्रहरीबिच भिडन्त भएको हो ।

उद्योगबाट निस्कने धुँवा तथा फोहोरका कारण स्वास्थ्य समस्या भोगिरहँदा समेत कसैले चासो नदेखाएका कारण आफूहरु विरोध प्रदर्शनमा उत्रिनु परेको स्थानिय कौशल निरौलाले जानकारी दिए ।

उनले भने, ‘रातको समयमा विषाक्त धुँवा निस्कने र धुँवाका कारण श्वासप्रश्वासमा समस्या आउनेदेखि जिउमा खटिराहरु आउनेसम्मको समस्या भएको र हामीले सम्बन्धित सबै निकायहरूमा गुहार माग्दा पनि कतैबाट सहयोग नपाएपछि उद्योगबिरूद्ध यस्तो कदम चाल्नु परेको हो ।’

प्रदर्शनमा खनारस्थित ग्रामथान टोलका डेढ सयबढी स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रदर्शनलाई प्रहरीले तितरबितर पार्न खोज्दा झडप भएको र झडपमा परि १५ जना प्रहरी घाइते भएको उनले जानकारी दिए । यस्तै केही प्रदर्शनकारीहरु पनि घाइते भएका थिए ।

उद्योगको प्रदूषणका कारण बाच्न निकै गाह्रो हुने गरेकाले कोभिड–१९ का बाब्जूत आफूहरु प्रदर्शनमा उत्रीएको स्थानियले बताए ।

यस विषयमा वडाध्यक्ष शिवनारायण चौधरी भने उद्योगको प्रदुषणले दैनिक हैरानी खेप्नु परेको बताए । उद्योग प्रसाशनलाइ पटक पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गरेपनि अटेर गरेका कारण अहिले यो समस्या आएको वडाध्यक्ष चौधरीले बताए छन्।