नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुग्यो

Newslaya Home

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुग्यो

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो ।

मृतक पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि काठमाडौं पठाइएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बिहीबार निधन भएको हो । उनको कोरोना परिक्षणको रिपोर्ट भने आज (शुक्रबार) पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ७८ जना पुरुष र २२ जना महिलाको ज्यान गएको हो ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४३ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट ज्यान गएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

गत २४ घण्टामा मात्रै कोरोनाका कारण पाँच जनाको ज्यान गएको छ । मोरङ, धनुषा र सिरहामा १र१ जना र बारामा दुई जनाको ज्यान गएको हो ।