भदौ १५ गतेसम्म सर्वोच्च अदालतको सेवामा कटौती

Newslaya Home

भदौ १५ गतेसम्म सर्वोच्च अदालतको सेवामा कटौती

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि सेवामा कटौती गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि सेवामा कटौती गर्ने भएको छ ।

अदालतले शुक्रवार सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवम् मुद्दा फिर्ता र मिलापत्रको काम मात्र गर्ने जानकारी दिएको हो ।

सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकामा समेत संक्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा संक्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनुपरेको अवस्था छ, यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट समेत अनुरोध भई आएको छ ।’

काठमाडौं उपत्यकाको हकमा भने यही साउन ८ गतेदेखि शुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुनुपर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।