बराहक्षेत्रका किसानले लगाएको धानबालीमा व्याक्टेरियल रोग देखा परेपछि नियन्त्रण गरिँदै

Newslaya Home

बराहक्षेत्रका किसानले लगाएको धानबालीमा व्याक्टेरियल रोग देखा परेपछि नियन्त्रण गरिँदै

-बाबुराम कार्की
शुक्रबार ३०, साउन २०७७

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र वडा नम्बर ८ र ९ का कृषकहरुले लगाएको धानबालीमा व्याक्टेरियल लिफ ब्लाईट रोग देखा परेको छ ।

उक्त रोग फेला परे पछि बराहक्षेत्र कृषि शाखाले किसानको खेतमै पुगेर रोगको पहिचान गरि त्यसको नियन्त्रण गर्न थालेको हो ।

रोग नियन्त्रणका लागि कपर अक्सिक्लोराईड ३ ग्राम प्रतिलिटर पानी र स्टेप्टोसाईकिलन ०.२५ ग्राम प्रतिलिटर पानीमा मिश्रण गरी प्रति कठ्ठा २० लिटरको दरले स्प्रे गर्ने गरिएको कृषि शाखाकी प्रमुख तुलसा लिम्बुले न्युजलयलाई जानकारी दिइन् ।

उनले भनिन्– ‘किसानहरुले लगाएको हरेक अन्न बालीहरुको लागि समयमा नै परामर्श र सेवा उपलब्ध गराउन सबैले लाग्नु पर्दछ । किसान सम्पन्न भए मात्र नगरको विकास हुनेछ ।’

बराहक्षेत्र–९ खुनियाधारका किसान जय प्रसाद आचार्य, बराहक्षेत्र–९ काली मन्दिरका किसउान राध देव मण्डल, छब्बिसपायका किसान रन्जित चन्द्रवंशी र बराहक्षेत्र–९ कै शान्तिचौकका किसान कपिल आचार्य लगायतका किसानले बारीबाट रागी बोटहरु उखालेर जाँचका लागि वडा नम्बर ९ को कार्यलयमा लगेका थिए ।

५० जना किसानहरुको धानबारीमा देखा परेको रोग पहिचान गरी विषादी र किट वितरण गरिएको कृषि प्राविधिक निर बहादुर राईले बताए । किसानलाई परामर्श समेत दिएको र किसानहरुले विषादी र किटको उचित प्रयोग गरेमा रोग नियन्त्रणमा आउने प्राविधिक राईले बताए ।
धान बालीमा पातको डढुवा रोग सुक्ष्म तत्व र खाद्य तत्वको कमिले देखा पर्दछन् ।

बराहक्षेत्र नगरपालिका कृषि क्षेत्रको लागि उर्वर भूमि मानिन्छ । यहाँ धान, मकै, गहुँ, कोदो, फापर, आलु लगायत मौसमी र बेमौसमी तरकारी समेत उत्पादन हुने गर्दछ । यस क्षेत्र दुध उत्पादनको लागि समेत प्रख्यात रहेको छ ।