इटहरीका डिएसपी सहित तीन प्रहरीलाई आर्थिक चलखेलको आरोपमा स्पष्टीकरण मागियो

Newslaya Home

इटहरीका डिएसपी सहित तीन प्रहरीलाई आर्थिक चलखेलको आरोपमा स्पष्टीकरण मागियो

शुक्रबार ३०, साउन २०७७

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सहित ३ प्रहरीलाई आर्थिक चलखेलको आरोपमा स्पष्टीकरण माग गरिएको छ ।

विभिन्न मुद्दामा आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम मागेको आरोपमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीका डिएसपी सहितका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारीलाई स्पष्टीकरण माग गरेको हो ।


उनीहरूका विरूद्ध एक मन्टेश्वरीका संचालक सन्तोष कटुवालले मन्टेश्वरीमा कार्यरत १९ वर्षिय युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको घटनाको मुद्द दर्ता नगर्न २३ लाखमा बार्गेनिङ गरी ५ लाख पेश्की नगद लिएको आरोप छ ।
१७ दिनपछि दर्ता भएपछि रकम फिर्ता गरेर आर्थिक चलखेल गरेको आरोप छ ।

यस्तै, इटहरी ९ को रिभर साइड रिर्सोटमा छापा हानी ६ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको घटनामा पनि इटहरी प्रहरीले आर्थिक चलखेल गरी ६ जनालाई छाडेको आरोप छ ।

बैङ्कका कर्मचारी र एक महिला यौन गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको घटनामा महिलालाई मात्र मानव बेचबिखनको मुद्दा चलाइएको थियो । योसंगै इटहरी २० मा झगडा हुँदा ट्याक्टरले किचेर मृत्यु भएको घटनामा पनि प्रहरीले एक जनालाई प्रतिवादी नबनाउने भनेर रकम माग गरिएको आरोप लागेको छ ।

इप्रका इटहरीमा कार्यरत केही प्रहरीले विभिन्न मुद्दामा आर्थिक रकम माग गरेको गुनासो र प्रमाणको आधारमा प्रहरीलाई स्पष्टीकरण सोधिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
डिएसपी भण्डारीसहित सबैलाई बिहीबारको मिति राखी २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।