कालिकोटमा मध्यराति पहिरोले घर पुरिंदा ६ जनाको मृत्यु

Newslaya Home

कालिकोटमा मध्यराति पहिरोले घर पुरिंदा ६ जनाको मृत्यु

शुक्रबार ३०, साउन २०७७

काठमाडौं । कालिकोटमा सुतिरहेका बेला मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम ओलियाका अनुसार बिहीबार राति १२ बजेतिर जिल्लाको महाबै गाउँपालिका ३ का रजबहादुर विष्टको घर पुरिँदा उनको परिवारका ४ सदस्य र दुई छिमेकीसमेतको मृत्यु भएको हो ।

पहिरोमा परी विष्टका दुई छोरा १३ वर्षीय पुष्प, ११ वर्षीय प्रवीण तथा दुई छोरी १८ वर्षीया सविना र १५ वर्षीया आशा विष्टको मृत्यु भएको हो । यसैगरी सोही घरमा सुतेका छिमकी दिलबहादुर विष्टका दुई छोरी १९ वर्षीया शान्ति र १० वर्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी ओलियाले जानकारी दिए ।

पक्की भित्ता र टिनको छानो भएको घर पहिरोले पुरेको हो ।