बिहीबार विराटनगरका ६० सहित प्रदेश एकमा ११५ संक्रमित थपिए

Newslaya Home

बिहीबार विराटनगरका ६० सहित प्रदेश एकमा ११५ संक्रमित थपिए

बिहीबार २९, साउन २०७७

विराटनगर । प्रदेश नम्बर १ मा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको पीसीआर परीक्षणमा विराटनगरका ६० सहित ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् ।

मोरङकै बूढीगंगामा २५ पुरुष, कटहरीमा दुई महिला एक पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहबीमा तीन पुरुष, धरान एक महिला र बराहक्षेत्र र राधुनीमा एक/एक जना पुरुष, इलामको सन्दकपुरमा चार पुरुष, झापाको बिर्तामोडमा एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।