नेपाल–भारत आधा नाकाहरु बन्द, अब यी नाकाबाट मात्र पाइन्छ छिर्न

Newslaya Home

नेपाल–भारत आधा नाकाहरु बन्द, अब यी नाकाबाट मात्र पाइन्छ छिर्न

मङ्गलबार २७, साउन २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले नेपाल–भारत नाकाहरु आधा बन्द गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुलाई भारतबाट आउने प्रदेश विन्दुलाई २० बाट घटाएर १० मा झारेको हो । अब झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाका माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुका कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफान्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपालीहरु नेपाल आउन सक्छन् । यसरी आएकाहरुलाई प्रवेश विन्दु रहेकै जिल्लामा क्वारेन्टिन गर्ने सरकारको निर्णय छ ।

यस्तै, गैर नेपालीहरुका लागि स्थलमार्गबाट नेपाल प्रवेशमा भदौ ३१ गतेसम्म पूर्ण रोक लगाइएको छ ।

फेरि लकडाउन हुने चर्चा भए पनि सरकारले देशव्यापी रुपमा बन्दाबन्दी गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय भएको छ ।

सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा पनिरोक लगाएको छ । कोभिड(१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

होटलहरुमा ‘टेक अवे’ (किनेर घरमा लाने) सेवा मात्र दिने पाउने निर्णय भएको छ । साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खेला गरिएको थियो । तर जनस्वास्थ्य मापदण्ड पालना नभएको तथा भिडभाड गरेकाले अब ‘टेक अवे’ सेवा मात्र दिन पाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बताए ।