कोभिड–१९ सँगै फेरिएको हाम्रो जीवनशैली

Newslaya Home

कोभिड–१९ सँगै फेरिएको हाम्रो जीवनशैली

–गोपाल तिम्सिना
सोमबार २६, साउन २०७७

आज भन्दा दुई दशक आगाडीको हाम्रो देश समाजको रहन सहन जीवन शैली हेर्ने हो भने त्यसमा आकाश जमिनको फरक देख्न सकिन्छ । दुई दशक नै न भनौ डेढ दसक आगडीकै कुराहरु अहिलेका नानी बाबुहरुलाई भन्ने हो भने उनीहरुले विश्वास गर्दैनन् ।


पछिल्लो केही महिनामा यता कै कुरा गर्ने हो भने पनि लकडाउन भन्दा अगाडि हाम्रो जीवन शैलीमा आमूल परिवर्तन आएको छ । विश्वभर कोभिड–१९ ले परेको प्रभाव पछि वृद्धि भएको अनलाइनको प्रयोग हाम्रो देशमा पहिले भन्दा एकदमै धेरै छ ।

विद्यालय बन्द भएको यो समयमा विद्यार्थीको सिकाइ क्रियाकलाप देखि लिएर खानेकुरा, किताब, सौन्दर्य सामग्री र केटाकेटीहरूका खेल्ने कुराहरू यो महामारीको समयमा अनलाइनबाटै हाम्रो घरको ढोकासम्म आइपुग्यो ।

लामो समयदेखि समय अनुकुल प्रवित्रि मैत्री ढंगबाट हामीले अगाडि बढ्ने अभ्यास गरे पनि महामारीले हाम्रो व्यवहारलाई परिवर्तन गराएको छ । लकडाउन भन्दा पहिला मानिसहरूले इन्टरनेटमा सामान हेर्ने तथा विभिन्न कुराको बिषयमा जानकारी लिने तर किनमेल गर्न बजारमा नै गएर किन्ने र आफूले लिनु पर्ने विभिन्न किसमका सेवा सुविधा सम्बन्धित कार्यलयमै गएर लिने प्रचलन हावी थेयो तर यो महामारीको समयमा यो प्रकृया तोडिएको छ ।

अहिले पनि लाखौं व्यक्ति घरबाटै काम गरिरहेका छन् । खेल मैदानमा खेल भइरहेको छ तर दर्शक छैनन् । सार्वजनिक स्थानहरुमा मास्क अनिवार्य भएको छ । रेष्टुराँहरुमा गाह्रकहरुलाई भौतिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको छ । बाहिर हिँडडुल गर्दा पनि भौतिक दूरी कायम राख्ने प्रयास मानिसहरुको छ । हवाई उडान खुलेको देशमा यात्रुलाई फेस सिल्ड अनिवार्य गरिएको छ । स्यानिटाइजरको माग पनि बढ्दो छ । जिमखाना बन्द छन घर जिम बनेको छ । विद्यार्थी इन्टरनेटको भरमा कक्षा लिन बाध्य भएका छन् । जात्रापर्व रोकिएका छन् । भव्य रुपमा गरिने विवाहको रमझम सिमित भएको छ ।

कोरोनाको कहर दिन प्रतिदिन बढ्दै छ । भाइरसविरुद्ध कुनै औषधी भेटिसकेको छैन र घर भित्रैमात्र बस्ने अवस्था पनि छैन । त्यसैले मानिसहरुले कोभिड–१९ बाट उत्पन्न नयाँ परिस्थितिलाई सामन्य रुपमा लिन थालेको भान पनि हुन थालेको छ ।

कोभिड–१९ महामारीले अनलाइन खरिद बिक्री देखि लिएर अन्य अनलाइन बाट गर्न सकिने आवश्यक कार्यको लागि दुईदेखि तीन वर्ष छिटो बढाइदिएको भान हुन्छ । महामारीले अनलाइनमार्फत् खरिद बिक्री तथा अन्य क्रियाकलाप गर्नुपर्ने अवस्था निम्त्याएको भए पनि कोभिड१९ पछि पनि यसको भविष्य सकारात्मक रहेको देखिन्छ ।