खोटाङ, धनकुटालगायतका सात जिल्ला कोरोना मुक्त

Newslaya Home

खोटाङ, धनकुटालगायतका सात जिल्ला कोरोना मुक्त

शनिबार २४, साउन २०७७

काठमाडौं । देशभरका सात जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती जिल्लाहरुमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।

शनिबार देशभर काठमाडौँ उपत्यकामा ६२ जनासहित ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

देशभरका सक्रिय संक्रमित ६ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ जना छन् ।

शनिबार देशभर ७ हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म चार लाख ३५ हजार २८९ जनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १० हजार ७९२ छ ।

शनिबार कोरोनामुक्त भई घर फर्किनेको संख्या ४९९ छ । हालसम्म १६ हजार ३१३ जना डिस्चार्ज भएका छन् ।