कोरोना रोक्न यस्तो नियम बनाऔं

Newslaya Home

कोरोना रोक्न यस्तो नियम बनाऔं

ज्ञानेन्द्र दाहाल
शनिबार २४, साउन २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ लाई कतिपय राष्ट्रले राम्ररी नियन्त्रणमा लिइ त्यहाँको जन जीवनलाई सहज बनाइ सकेका छन् । कतिले नीति नियम, कडा कानुन बनाइ नियन्त्रण गरिरहेका छन् । हामीले बुझ्न नसेकेका कुरा, कुनै राष्ट्रले यसलाई राम्ररी नियन्त्रण गर्न सक्ने अनि कुनैले अर्बौ रुपैया सक्दा पनि नियन्त्रण गर्न नसक्ने, बरु यो भाइरस गुणात्मक तरिकाले बढ्दै जाने किन भइरहेको छ ?

हरेक शहर, बजार, गाउँ टोल पुर्ण लकडाउनमा छ । पुलिस प्रशासन व्यापक परिचालित छन् । कुनै ब्यक्ति उनिहरुको नजरमा पर्यो कि उस्ले भौतिक सजाय पाउँछन्, या नराम्रो शब्द ग्रहण गर्नुपर्छ, या जरिवाना ।

फेरी लकडाउन खुल्ने बित्तिकै बजारमा मानिसहरु ह्वारह्वार्ती कुद्न थाल्छन् । दृश्य यस्तो देखिन्छ कि मानौँ केही दिनदेखि हजारौको संख्यामा थुनिएका कैदीहरु छोडिएका हुन् ।

हामी सबैले अनुभब गरेकै हो चाहे त्यो राजश्व तिर्न होस् या बैकमा या तरकारी पसलमा नै किन नहोस् मानिसहरुको भीड फेरी बढ्न थाल्छ । यति सम्म त ठिकै छ, काममा निस्किए । अझ एउटा जेलबाट निस्किएको कैदी गाउँ शहर हेर्न, हावा खान निस्किए झै उद्देश्य बिहिन निस्किएका हल्लावाजहरुका कारण पनि समस्या उत्पन्न भएको छ । कोरोनाको कहर चर्किएको छ, आम सर्वसाधारणको लागि यो चिन्ताको विषय हो ।

के हामी यसलाई नियन्त्रण गर्न नसक्ने नै भएका हौँ त ? हामी अवश्य पनि यसलाई नियन्त्रण गर्न सक्छौँ, यदि हामी तथा हाम्रो सरकारले केही कुरामा ध्यान दियो भने ।

अहिलेको विषम परिस्थितिमा सरकारले जनताहरु भड्किन सक्ने कार्यक्रमहरु ल्याउनु हुँदैन । सरकारको आलोचना गर्न भन्दा कोभिड १९ को विषयमा एक हुन विभिन्न राजनैतिक दलहरुलाई आग्रह गर्नुपर्छ । कोरोना नियन्त्रणका लागि सरकारले ल्याएको नियम मान्न अटेर गरे कारबाही गर्न पनि पछि पर्नु हुँदैन । यस्तै सत्तासिन दलका नेताहरु नै सरकारको आलोचना गर्ने अनि सरकार गिराउने खेलमा लागेमा पार्टीबाट निस्कासन गरी तत्काल कारबाही गर्नुपर्छ । किनकी यसले कोभिड १९ प्रतिको चासो र कतिपय राष्ट्रीय विषयहरुलाई ओझेलमा पारिरहेको छ ।

भारत तथा नेपालको निश्चित नाकाबाहेकका सिमा क्षेत्र सदाको लागि बन्द गर्ने (किन सदाको लागि भन्नेबारे अर्को लेखमा विस्तृत चर्चा गर्नेछु), स्वदेश आउने नेपाली नागरिकहरुलाई निश्चित होटलमा एक महिनासम्म निःशुल्क राख्ने (खर्च सरकारले बेहोर्ने) व्यवस्था गर्नुपर्छ । छिमेकी देश भुटानले पनि आफ्ना नागरिकहरुलाई थ्रि स्टार होटलमा क्वारेन्टाइनमा राख्ने गरेको छ ।

प्रत्यक घरको एक सदस्यको पिसिआर टेस्ट गर्ने, कोरोना देखिएमा सम्पुर्ण परिवारको टेष्ट गर्ने, जसमा देखिन्छ उनिहरुलाइ सरकारले तोकिएको होटलमा आइसोलेसनमा राख्ने, प्रत्यक दिन कम्तिमा एक पल्ट नियमित स्वास्थ्य परिक्षण गराउने र २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गर्नुपर्छ ।

एक महिने पुर्ण लकडाउनमा यी कामहरु कडाइका साथ गरिसक्ने र निम्न नीति नियम राखी पुर्ण लकडाउन खोल्ने व्यवस्था गर्नुपर्छः

१. कुनैपनि सभा सम्मेलन उत्सवका कार्यक्रम तथा आन्दोलनको कार्यक्रम गर्न गराउन नपाउने । गरेमा कानुनी कारवाही गर्ने ।

२. कतारले ताप मापन गर्ने एप्स बनाएझैँ, नेपालले पनि बनाउने र आफ्ना नागरिकलाई निःशुल्क रुपमा उक्त एप्स पठाउने र सरकारले निगरानी गर्ने । जसले गर्दा सरकारलाई आफ्नो नागरिकको स्वास्थ्य अवस्था बुझ्न सजिलो होस् ।

३. दुर्ई भन्दा बढी ब्यक्तिलालाई मास्क बेगर कुनैपनि ठाउँमा हिडडुल गर्न या किनमेल गर्न नदिने । भेटिएमा निश्चित जरिवाना सहित १ घण्टा उभ्याएर सजाय दिने ।

४.कुनै पनि पसल या सब्जीमंडी अगाडि हात धुनको लागि साबुन पानी अनिवार्य राख्न लगाउने र निश्चित सामाजिक दुरी कायम राखी बिक्री बितरण गराउने । उक्त कार्य नगरेमा १००० देखि ५००० रुपैया सम्म जरिवाना लिने ।

५.कसैको पनि परिवारका सदस्य या आफन्त बिदेशबाट कुनैपनि प्रक्रिया नपुर्याइ सिधै घरमा आएमा सम्बन्धीत निकाय या पुलिस प्रशासनमा खबर गर्न लाउने । यदि नगरेको भेटिएमा उक्त परिवारबाट १० देखि ५० हजार रुपयासम्म जरिवाना असुली गराउने । त्यसको ५० प्रतिशत रकम सुचना दिनेलाई दिने ।

६. जनतालाइ साइकल, ८० सि सिको इ बाइक र ८०० सि सिको चार पांग्रे गाडीमा भंसार फ्री गरी कुनै पनि बित्तिय संस्था या बैंकबाट बढीमा ५ प्रतिशत ब्याजदरको फाइनान्समा उपलब्ध गराइ दिने ब्यबस्था गर्ने । जस्ले गर्दा मानिसहरु एक ठाउँबाट अर्को ठाउँ सुरक्षित तरिकाले विना कुनै भीडभाड आवतजावत गर्न सक्नेछन् ।

७.स्वास्थलाई ध्यानमा राखी कुनैपनि ब्यक्तिहरु बीच समाजिक दुरी कायम राखी सार्वजनिक यातायात संचालन गर्न लाउने । यातायात घाटामा चल्ने हुदा सरकारले बैंकलाई तिर्नुपर्ने किस्ता रकम तिरिदिने ।

८. स्वास्थ्य तथा शिक्षा राष्ट्रको दायित्वमा पर्ने हुँदा यसको ख्याल राख्दै कुनै पनि कोरोना पिडित ब्यक्तिहरुको स्वास्थ्यको जिम्मा सरकारले पुर्ण रुपले लिने । विधार्थीहरुलाइ कोरोनाको भयमा राखी पढ़ाईबाट बिमुख गर्न नपाउने ब्यबस्था गर्ने । स्वास्थ्य सम्बन्धी आवस्यक उपकरण उपयोग गरी भौतिक रुपमा समाजिक दुरी कायम गरी विद्यार्थीहरुलाई पठन पठान गराउने । सम्बन्धीत निकाएले कडाइको साथ उक्त बिधालयहरुको अनुगमन गर्ने, आबस्यक मापदण्ड कायम गर्न नसकेको भेटे जरिवानासहित कारवाही गर्ने ।

९. सामाजिक संजाल तथा राष्ट्रीय स्तरका टेलिभिजन, रेडियो आदिबाट कोरोना सम्बन्धी ब्यापक सचेतना कार्यक्रम संचालन गर्ने । खानपान सम्बधि सचेतना जगाउने । जंकफुडले गर्नसक्ने असर सम्बन्धि कार्यक्रम गर्ने तथा राज्यले राखेको नियम कानुन तथा जरिवानासम्बन्धी जानकारी गराउने ।

यी कुराहरु राज्यले सहि तरिकाले अबलम्बन गर्ने गराउने हो भने कोरोनाको कहरबाट नेपाली जनताहरु मुक्त हुनेछन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Sukdev Ghimireलेख्नुहुन्छ
  • |
  • बुधबार ०३, भदौ २०७७
Excellent advice . Appreciate it sir.