संकटको सामना गर्न कृषिमा आत्मनिर्भर आवश्यक

Newslaya Home

संकटको सामना गर्न कृषिमा आत्मनिर्भर आवश्यक

-  गोपाल तिम्सिना
शनिबार २४, साउन २०७७

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ अर्थात कोरना भाइरसको संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढ्दो अवस्थामा छ । अझ विशेष गरेर सरकारले चैत्र ११ गतेदेखि गरेको करिव ४ महिना जतिको लामो लकडाउन अहिले खोलियेको छ । कोरोनाको संक्रमण विभिन्न जिल्लाहरुमा भयावह हुँदै समुदाय स्तरमा फैलँदै गरेको देखिन्छ, जस्ले भोलिका दिनमा डरलाग्दो अवस्था न ल्याउला भन्न सकिने अबस्था छैन ।

लकडाउन खुलेसँगै संक्रमण दर बढ्दो छ । सम्भाबित जोखिम न्युनिकरण गर्नको लागि स्थानीय सरकारले अहिले फेरि लकडाउन आहृवान गर्न थालेका छन । तर, यसको पूर्णरुपमा कार्यान्वयन भएको छैन । संक्रमित बढ्दै जाँदा आइसोलेसन बेडको पनि अभाव भएको छ । अहिले को यो पछिल्लो समयमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिएका छन् । स्थानीय सरकारले समुदायमै संक्रमण फैलिएको दाबी गर्दै आएका छन् ।

कोरोना संक्रमणको समस्या दिन प्रति दिन झन जटिल बन्दै गएको छ भने आम नागरिकको जनजीवनको अवस्था अस्तव्यस्त बनिरहेको छ । डर र सन्त्रास सँगसँगै काम गरेर खाने श्रमिकको दैनिक जीवन यापनमा अप्ठयारो अवस्था आउने पक्का पक्कि छ । उनीहरु रोग र भोक दुवैबाट भयभित छन् । अग्रपङ्क्तिमा बसेर काम गर्ने सुरक्षाकर्मी, डाक्टर, स्वास्थ्यकर्मी, स्थानिय स्थरका जनप्रतिनिधि र कर्मचारीमा कोरोनाको जोखिम उच्च देखिएको छ ।

देशभरि नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । छलफलमा विज्ञहरुले भने लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले सङ्क्रमण देखिएका निश्चित ठाउँहरु सिल गरी सीमा नाकामा कडाइ गर्नुपर्ने लकडाउन गरेर कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउने भएकाले बढी सङ्क्रमण फैलिएको क्षेत्रमा कडाइ गर्नुपर्ने लगायतका सुझाब प्रधानमन्त्रीलाई विज्ञहरुले दिएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उनिहरु सबैको सल्लाह सुझावअनुसार प्रधानमन्त्रीले उचित निर्णय लिनुपर्ने आवश्यक्ता देखिएको छ ।

अन्य देशमा जस्तै नेपालमा पनि संक्रमण बढेको देखिन्छ । अहिले अमेरिका, ब्राजिल र भारतमा बढी संक्रमण देखिएको छ । संख्यात्मक रूपमा यी देशमा बढी फैलिएको छ। अमेरिकामा त झन १ लाख ५० हजारभन्दा बढी मानिसको मत्यु भएको छ। केही देशमा ज्येष्ठ नागरिकको बढि मृत्यु भएको छ । अन्य रोग भएका हुनाले र रोगसँग लड्ने क्षमता कम हुने हुनाले पाका उमेरका मानिसको मृत्यु बढी भएको देखिन्छ ।

हाम्रो देशमा अहिले मुत्युदर कम देखिएको छ तर पनि पछिल्ला केहि दिन यता हेर्ने हो भने मृतक को सन्ख्या पनि बडिरहेको देखिन्छ । सुरुको अवस्थामा क्वारेन्टिनमा बसेकाहरूलाई मात्र परीक्षण गरिएको हुनाले सन्क्रमित कम देखियेको र मृत्यु दर कम देखिएको भन्ने बिभिन्न क्षेत्र बाट कुरा उठ्दै आयको छ। समुदायमा संक्रमण बढेपछि नेपालमा पनि मृत्यदर बडेको छ । त्यसकारण यही अवस्था रहने हो भने नेपालमा स्थिति भयावह हुने देखिन्छ ।

शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ । बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम साना खुद्रा व्यापार र साना उद्योग व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको अध्ययनले उद्योग तथा व्यवसायले पुनरुत्थान भई पुरानै गति मा फर्कन समय लाग्ने सक्ने देखिएको छ। उद्योगी व्यवसायीले बन्दाबन्दीपछि आफ्नो व्यवसाय पुरानै अवस्थामा फर्कन औसतमा करीब ९ महीना लाग्ने सर्वेक्षणमा देखिएको छ । तर, होटेल तथा रेस्टुराँ क्षेत्रलाई सामान्य अवस्थामा आउन १३ महीना लाग्ने देखिएको छ । सामान्य अवस्था आएपछि ८२ दशमलव ३ प्रतिशत उद्योगरव्यवसायले अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिन्छ। राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षासहित उक्त सर्वेक्षण गरिएको बताएका छन ।

विदेशिएका लाखौं युवाहरु महामारीका कारण रोजगारी गुमाएर वा छोडेर अब स्वदेश फर्किनुपर्ने बाध्यकारी अवस्था सृजना भएको छ । त्यसैगरी उच्च शिक्षा हाँसिल गर्न गएका नेपाली युवाहरु समेत स्वदेश फर्किने छन् । यो राज्यको लागि थप चुनौतिको विषय त बन्ला तर यो वर्गलाई उचित व्यवस्थापन र उपयोग गर्न सकेमा राष्ट्र निर्माण गर्ने ठूलो अवसरको रुपमा पनि परिणत गर्न सकिने छ । नेपालको वर्तमान सन्दर्भमा उद्योग र व्यापारको क्षेत्र निकै पिछडिएको साथै पर्यटन क्षेत्र पनि कोरोनाको महामारीका कारण धरासायी भएको परिस्थितिमा विदेशबाट फर्किने ती लाखौं युवाहरुलाई राज्यले रोजगारी एवं उत्पादनको कृयाकलापमा लगाउन सक्ने सबैभन्दा बढी सम्भावना बोकेको एकमात्र क्षेत्र कृषि हो ।

देशलाई आत्मनिर्भर बनाएर आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन गर्न सकिने नेपालको एकमात्र क्षेत्र पनि कृषि नै हो भन्ने कुरा अब राज्यले मात्र होइन देशका हरेका नागरिकले राम्रोसंग बुझेर त्यसतर्फ लागि पर्ने बेला आएको छ । सरकारले कृषि क्षेत्रको समग्र विकासका निम्ति यससंग जोडिएका प्राविधिक, नीतिगत र संरचनागत पक्षहरुमा सुधार गर्दै कृषि विकासको नयाँ खाका बनाउनु जरुरी छ जसबाट बढीभन्दा बढी साना र मझौला कृषकहरु प्रत्यक्ष लाभान्वित हुन सकुन ।

कुनै पनि जोखिम बाजा बजाएर आउँदैन नत जोखिमको प्रभावमा विभेद नै हुन्छ । हरेक बिपतले विनासमात्र निम्ताउँदैन त्यसले स्वर्णिम अवसर पनि प्रदान गर्दछ भन्ने कुरा धेरै उदाहरण पनि छन सन् १६६५ ताका लन्डनमा प्लेग जस्तो महामारीले आक्रमण गर्दा क्षतिबाट जोगिन लकडाउन गर्ने सवालमा त्यहाँको क्याम्ब्रीज विश्वविधालयको पठनपाठन पनि बन्द हुन पुग्यो । जसको मारमा क्यामब्रीज विश्वविद्यालयका एक जना केही गर्न खोज्ने, अध्ययन अनुसन्धानमा रुचि राख्ने सरआइज्याक नामका विद्यार्थी पनि परे तर उनी खुसीका साथ गाउँमा फर्के र दिनरात लागेर कोर्स बाहेकका खोज अनुसन्धान तर्फ ध्यान दिए र लकडाउन अवधिभित्रै ल अफ ग्राइभिटीको सिद्धान्त प्रतिपादन गर्न सफल भए र उनको नाम सर आइज्याक न्युटन रहन गयो । त्यति मात्र नभयेर नेपालको सन्दर्भमा पनि सिद्धार्थ गौतम घर परिवार र समाज बाट अलग रहेर जङ्गलमा ध्यान गर्न थाले र अन्ततः बुद्धत्व प्राप्त गरिछाडे र उनको नाम पनि सिद्धार्थ गौतम बुद्ध रहन गयो ।

तसर्थ अब हामि ले हेरेक अफ्ठेरा अबस्था तथा चुनौति को समना गर्दै आफु बच्दै आफ्नु परिवार ,समाज अनि रास्ट्र लाइ बचाउनु पर्ने आवश्यक्ता देखिएको छ । हामीले पनि अब हरेक क्षेत्रमा सिर्जना भएको जोखिमलाई अवसरका रूपमा उपयोग गर्दै नेपाली न्युटन र हजारौँ बुद्ध जन्माउने तर्फ सोच्ने वेला आएको छ ।