उद्योगको गन्धले खनारवासी बिरामी, कसैले चासो नदिएको गुनासो

Newslaya Home

उद्योगको गन्धले खनारवासी बिरामी, कसैले चासो नदिएको गुनासो

शुक्रबार २३, साउन २०७७

इटहरी । इटहरी १३ खनारस्थित एक उद्योगबाट निस्केको गन्धका कारण वरपरका सर्वसाधारण प्रभावित बनेका छन् ।

अरिहन्त अटो कोर्गेसन नामक उद्योगबाट निस्कने धुँवा तथा फोहोरका कारण स्वास्थ्य समस्या भोगिरहेको स्थानीयहरुको गुनासो छ । ८ महिनादेखि रातको समयमा विषाक्त धुँवा निस्कने र धुँवाका कारण श्वासप्रश्वासमा समस्या आउनेदेखि जिउमा खटिराहरु आउनेसम्मको समस्या भएको स्थानीय कौशल निरौलाले जानकारी दिए ।

‘धुँवाको प्रभाव रातीको समयमा अझ बढि हुन्छ,’ उनी भन्छन्, ‘राती कोही सुत्न सक्दैनौं, उठेर तातो पानी खाएर कुल्ला गरेपछि अलि आराम हुन्छ ।’ उनका अनुसार राती १० देखि बिहान ६ बजेसम्म बढी धुँवा आउने र धुँवाका कारण आँखा पोल्ने, वाकवाकी लाग्ने, सास बढ्ने जस्ता समस्याहरु तत्काल देखिन्छन् । धुँवाकै कारण जिउभरी खटिरा आउने गरेकोसमेत उनले बताए ।

१०० भन्दा बढी घर परिवार प्रभावित हुने गरी उद्योगले फोहोर गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीय ओमप्रकाश देवले बताए । ‘वडा कार्यालय, नगरपालिकादेखि विराटनगरको मानवाधिकार आयोगसम्म उजुरी दियौं, तर कसैले चासो दिएनन्,’ उनले भने, ‘उद्योगले पनि व्यवस्थापनको लागि चासो दिएको छैन ।’

कागजका विभिन्न सामान उत्पादन गर्ने उक्त उद्योगले फोहोर व्यवस्थापन नगर्दा समस्या उत्पन्न भएको हो । अघिल्लो साल साउन १४ गते वडा कार्यालयसँग स्वीकृती लिएको उक्त उद्योगबाट निस्कने धुँवा र फोहोरले गर्दा बस्नै नसक्ने भएपछि स्थानीयहरुले विभिन्न निकाय गुहार्न थालेको एक वर्ष भइसकेको छ । गत वर्ष फागुन ८ गते वडा कार्यालयमा उद्योगको व्यवस्थापनका लागि भन्दै निवेदन दिएका थिए । यस्तै गत वैशाखमा इटहरी उपमहानगरपालिकामा समेत लिखित निवेदन दिएका थिए ।

दुर्गन्ध भई मानिसका साथै बाली र गाईवस्तुलाई समेत हानी नोक्सानी भएको भन्दै प्रदूषण घटाउने बारे निर्देशन दिन माग गरिएको थियो । तर हालसम्म समस्या समाधान नभएको स्थानीय महेश शाहले बताए ।

उक्त उद्योगले कागज उत्पादन गर्ने गरेको उद्योगका कर्मचारी नारायण गौतमले जानकारी दिए । गन्धका कारण समस्या भएको गुनासो आएको र समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

यता १३ नम्बर वार्डका वडाध्यक्ष शिव नारायण चौधरीले भने यस विषयमा आफूले चासो दिइरहेको बताए । स्थानियको जनगुनासो आएपछि आफू यस समस्याको समाधानको लागि निरन्तर लागि परिरहेको उनले बताए । ‘केही महिना अघि विराटनगर उद्योग वाणिज्य संघमार्फत ल्याब टेक्निसियन झिकाएर उद्योगबाट आउने ग्यास जाँच गर्न पठाएको र त्यसको रिपोर्टमा केही त्रुटि देखिएपछि केही समयको लागि उद्योग बन्द भएको थियो तर फेरि अहिले सञ्चालनमा आएको छ’, चौधरीले भने ।

उनले भने, ‘हामिले दोस्रो चरणमा १०/१५ अघि वातावरण इन्जिनियर र समाजलाई राखेर फेरि पनि ल्याब टेस्टको लागि पठाएका छौं । त्यसको रिपोर्ट अहिलेसम्म नआएकाले रिपोर्टको प्रतिक्षामा छौं ।’

उनले यसप्रकारको गन्धबाट आफू पनि पिडित भएका कारण यसको समाधान चाडै गर्ने बताए ।