प्रतिबन्धित औषधिको डिलरमा औषधि विभागको छापा, सञ्‍चालक खड्का पक्राउ

Newslaya Home

प्रतिबन्धित औषधिको डिलरमा औषधि विभागको छापा, सञ्‍चालक खड्का पक्राउ

शुक्रबार २३, साउन २०७७

विराटनगर । औषधि व्यवस्था विभाग विराटनगर र प्रहरीको संयुक्त टोलीले प्रतिबन्धित औषधिको डिलरमा छापा हानी सञ्‍चालकलाई पक्राउ गरेको छ।
डिलर सञ्चालक दमक नगरपालिका–७ का ३८ वर्षीय गंगाबहादुर खड्का पक्राउ परेका हुन् ।

खड्काले नेपालमा आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधिको लुकाइछिपाइ बिक्री गर्न डिलर नै सञ्चालन गरेको पाइएको विभागले जानएको छ । दमकमा खड्काको दमक मेडिसिन डिस्ट्रीब्युटर्स नामक औषधिको होलसेल पसल छ ।

त्यही पसलको आडमा उनले भारतबाट अवैधरुपमा ल्याएर प्रतिबन्धित औषधि पनि बिक्री गर्ने गरेको खुलेको जनाइएको छ । भारतबाट ट्रामाडोल, जेनग्रा रेड, लुलीगार्ड, डर्मीकेम ओसी, प्रेगाउट किट, भिवेल फोर्ट, क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधिको कारोबारमा खड्काको संलग्नता देखिएको छ । प्रतिबन्ध लगाइएको र दर्ता नै नभएका कारण यी कुनै औषधि नेपालमा भित्राउन र बिक्रीवितरण गर्न नपाइने जनाइएको छ ।

खड्काको घरमा छापा हान्दा लुकाइछिपाइ राखेको अवस्थामा एक सय २० पत्ता ट्रामाडोल, ३० पत्ता जेनग्रा रेड, ९५ ट्युब लुलीगार्ड, चार सय बट्टा डर्मीकेम ओसी, १४ पत्ता प्रेगाउट किट, एक सय ४० पत्ता भिवेल फोर्ट र एक सय ५० ट्युब क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधि बरामद भएको छ ।

खड्काविरुद्ध औषधि ऐन २०३५ अनुसार कारबाही गर्न अनुसन्धान अघि बढाइएको जानकारी दिइएको छ ।