कोशी अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना पुष्टि, प्रदेश एकमा मृतकको संख्या ४ पुग्यो

Newslaya Home

कोशी अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना पुष्टि, प्रदेश एकमा मृतकको संख्या ४ पुग्यो

बुधबार २१, साउन २०७७

विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)का कारण दुईजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।

जण्डिसका विरामी उनलाई ज्वरो आएपछि उपचारका लागि मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनमा उपचाररत महानगरपालिका ९ का पुरुषको आज दिउँसो निधन भएको कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

अस्पतालले ज्वरोको लक्षणसंगै विरामीको स्वाब परिक्षणका लागि नमुना संकलन गरेको थियो । मृत्यु भएपछि उनको पीसीआर परिक्षण पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

त्यस्तै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको अस्पताका मेसु डा. चुमनलाल दासले जनाए ।

बिहान १०ः३० बजेतिर मृत्यु भएको उनको पनि स्वाब परिक्षण कोशी अस्पतालमै गरिएको र रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालले दुवै मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाएको छ । शव ‘डिस्पोज’ गर्न नेपाली सेनाको शव व्यवस्थापन टोलीले गर्नेछ । योसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ चार पुगेको छ ।

यसअघि, विराटनगर महानगरपालिका ५ का ७७ वर्षीय पुरुषको कोशी अस्पतालमा र मोरङ सुनवर्षी नगरपालिकाका पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।