इटहरी लकडाउन गरिँदै, आवश्यक सामाग्री आजै किन्न उपमेयरको आग्रह

Newslaya Home

इटहरी लकडाउन गरिँदै, आवश्यक सामाग्री आजै किन्न उपमेयरको आग्रह

मङ्गलबार २०, साउन २०७७

इटहरी । इटहरी उपमहानगरपालिका लकडाउन गरिने भएको छ । कति दिनलाई गर्ने भन्ने बारे अहिले केही बेरमा हुने बैठकले निर्णय गर्दैछ ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको इटहरी उपमहानगर स्तरिय आकस्मिक वैठक अहिले ४ वजे ईटहरी अस्पतालमा बस्दै छ। बैठकले कोभिड १९ महामारीको समीक्षा र आगामी रणनिति तयार गर्ने इटहरी अस्पतालका रामकुमार धमलाले जानकारी दिए ।

बैठकले लकडाउन गर्नेबारे निर्णय गर्ने जानकारी इटहरीकी उपमेयर लक्ष्मी गौतमले फेसबुकमार्फत दिएकी छिन् । उनले केही दिनलाई पुग्ने सामानको जोहो गर्नसमेत आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्,
‘अति आवश्यक सामाग्रीहरु आजै जोहो गर्नुस् है केही दिन लाइ, अब इटहरी पुर्ण रुपमा लकडाउन गर्नु पर्ने अबस्थामा पुग्यो, निर्णय हुन बाकी ४ बजे बैठक छ ।’

छिमेकी नगरहरु विराटनगर, दुहबी, इनरुवा लकडाउन भइसक्दा इटहरीले पनि लकडाउनको तयारी गरेको हो । पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहँदा परिक्षण पनि बढाइएको छ । तर नतिजा आउन ६ दिनसम्म ढिलो भएपछि इटहरीवासी असन्तुष्ट बनेका छन् । साथै परिक्षण पनि प्रभावकारी नभएको गुनासो गरिएको छ ।

यो समाचार तयार पार्दासम्म इटहरी उपमहानगरपालिकाका ३ जना कर्मचारीमा कोरोना देखिएको छ ।