चिनियाँ कम्पनीले डेढ खर्ब क्षतिपूर्तिको माग गर्दै एप्पलविरुद्ध हाल्यो मुद्दा

Newslaya Home

चिनियाँ कम्पनीले डेढ खर्ब क्षतिपूर्तिको माग गर्दै एप्पलविरुद्ध हाल्यो मुद्दा

मङ्गलबार २०, साउन २०७७

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको हो ।

सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना पेटेन्ट चोरी भएको हुँदा १० अर्ब युआन क्षतिपूर्ति पाउनुपर्ने र एप्पलका त्यस्ता प्रडक्टहरुको उत्पादन, प्रयोग, बिक्री वितरण, आयात तथा बजारीकरणमा रोक लगाउनुपर्नेसमेत माग गरेको छ ।

आफूले सन् २००४ मा निवेदन दिएर सन् २००९ मा दर्ता गराएको भ्वाइस रिकग्निसन प्रविधिलाई एप्पलले आफ्नो सिरी प्रविधिमा नक्कल गरेर पेटेन्ट अधिकार उल्लंंघन गरेको जिकिर सिआओको छ ।

अदालतमा आफूविरुद्ध चिनियाँ कम्पनीले दायर गरेको उक्त मुद्दाका विषयमा एप्पलले चाहिँ अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।