विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीसहित १२ जनामा कोरोना पुष्टि

Newslaya Home

विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीसहित १२ जनामा कोरोना पुष्टि

आइतबार १८, साउन २०७७

विराटनगर । विराटनगरपमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालका दुई नर्स र नापी कार्यालयका दुई कर्मचारीसहित १२ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको नापी कार्यालय विराटनगरका निमित्त प्रमुख गणपति साहले जानकारी दिए ।

उनका अनुसार नापीबाट पाँच जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये एक जना नापी कार्यालयका सुरक्षा गार्ड हुन् । एक जना राजस्व फाँटका खरिदार हुन् ।

अब नापी कार्यालयका सबै कर्मचारीको कोरोना परिक्षण गरिने र भोलिदेखि कार्यालय बन्द हुने साहले जानकारी दिए ।

यस्तै, आइतबार नै कोशी अस्पताल विराटनगरका तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुई जना नर्स र एक जना सफाइ कर्मचारी रहेका छन् ।

बिहीबार बहिरंग सेवाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले आफ्ना दुई सय कर्मचारीको पीसीआर जाँच गरेको थियो । पिसीआर जाँच गर्दा शुक्रबार ४ जना र आइतबार तीनजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

मेसु दासका अनुसार कोशी अस्पतालमा कार्यरत ८ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबार यता कोशी अस्पतालको ओपिडी सेवा बन्द छ ।