बराहक्षेत्रमा ढुङ्गा खसेर लाग्दा भोजपुरको एक युवाको मृत्यु

Newslaya Home

बराहक्षेत्रमा ढुङ्गा खसेर लाग्दा भोजपुरको एक युवाको मृत्यु

आइतबार १८, साउन २०७७

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित १७ नम्बरमा ढुङ्गा खसेर लाग्दा एक युवाको ज्यान गएको छ ।

शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा पैदल यात्री भोजपुर आमचोक गाउँपालिका–८ हैखाराङका २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

स्वामी नारायण एण्ड आशिर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुङ्गा खसेको थियो । कम्पनीको १ क १७६० नम्बर जेसिभीले अवरोध पुर्याएका सडकको पहिरोलाई पन्छाउने क्रममा ढुङ्गा खसेर राईलाई लागेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको छ भने घटनामा उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

उनीहरू ७ जनाको समूहमा भोजपुरको आमचोक जाँदै गरेको अवश्थामा दुर्घटना भएको जनाइएको छ । अन्य थप ३० वर्षीय महेन्द्र राई, ९ वर्षीया समीक्षा राई, २४ वर्षीय विशाल राई, ६२ वर्षीया बुद्धिमाया राई सकुशल रहेका छन् ।

मृतक राजकुमारको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ । जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्री र जेसिबीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिए ।