भोलिदेखि पर्सामा अनिश्चितकालीन निषेधाज्ञा

Newslaya Home

भोलिदेखि पर्सामा अनिश्चितकालीन निषेधाज्ञा

आइतबार १८, साउन २०७७

पर्सा । पर्सामा सोमबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरस संक्रमण समुदायमा फैलिएको आशंकामा निषेधाज्ञा जारी गरिएको हो ।

संक्रमितको व्यवस्थापनमै समस्या भएपछि शनिबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

पछिल्लो तीन सातामा पर्सामा ११ जनाको मृत्यु भएको छ । संक्रमित र मृतक बढ्दै जान थालेपछि वीरगन्जमा १० साउनदेखि नै निशेधाज्ञा लगाइएको छ । अब जिल्लाभरि सुरक्षा व्यवस्था कडा पारिने सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

धेरै भिडभाड हुने स्थानमा सेना खटाइने उनले बताए ।

पर्सामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । छिमेकी जिल्लामा कोभिड अस्पताल नभएका कारण उपचारका लागि पर्सा ल्याइँदा मृतकको संख्या धेरै भएको सहायक प्रजिअ बस्नेत बताउँछन् ।

पर्सामा लक्षण देखिएका संक्रमितलाई अस्पताल र सामुदायिक ‘आइसोलेसन’ मा राखिएको छ । तर, लक्षण नदेखिएका संक्रमित घरैमा भएको उनी बताउँछन् । संक्रमितसँग चिकित्सकको सम्पर्क हुने गरेको उनको दाबी छ ।

ठाउँ अभावले लक्षण नदेखिएका संक्रमितलाई घरैमा राखिएको उनको भनाइ छ । त्यस्ता बिरामीबाट संक्रमण फैलने डर बढेको छ । त्यसलाई नियन्त्रण गर्न पनि निषेधाज्ञा लगाउनु परेको जिल्ला प्रशासनले जनाएको छ ।