कबिता !

Newslaya Home

कबिता !

– किरण लिम्बु
आइतबार १८, साउन २०७७

जब मनमा रहर र चाहानाले जरा गाड्छ
त्यहाँ इच्छाले गोरेटो बनाउँछ
अनेकौँ आसाहरु रहरको पछ्यौरी समाएर
अविछिन्न रहरतिर दौडिन्छन।
तब लाग्छ,
जिन्दगी आसा र आकांक्षाको दौडाहा रहेछ।

जब आसा र आकांक्षाले दौडाह गर्छ
मनले सपनाको अनगन्ति फूल फूलाउँछ
कति सपना ओईलिञ्छन, कति सपना फ़क्रिञ्छन।
तब लाग्छ,
जिन्दगी सपनाको फूलबारी रहेछ।

जब मन तन्नेरी हुँदै जान्छ
जीवनले आफ्नै जवानी रहर देख्छ
रहरको कहर संगै
कर्तव्यको पोको बोकेर संसार डुल्छ
आफन्तको माया संगै परिश्रम बेचिन्छ
तब लाग्छ
जिन्दगी संघर्षको बजार रहेछ ।

आसा र आकांक्षाको उडान भर्दै
दौडी रहेको जीवन यात्रामा
जब निरन्तरताको कठालो समाउँछ
जीवनले नदेखेको गन्तब्य भेट्छ
अनि थकित विश्रामको सास फेर्छ
तब लाग्छ
जिन्दगी नदेखिने अनवरत यात्रा रहेछ ।

जीवन आँकुरा बनेर कोपिला भर्छ
जीवन फूल बनेर मुस्कुराउँछ
उमेरको घाम संगै ओईलिएर झर्छ
अनि धर्तीमा बिलिन हुन्छ
सम्झनाको भविष्य बनेर
वर्तमानलाई मारी दिन्छ
अनि,यादै(यादको विगत बन्छ
तब लाग्छ
जीवन त अजम्बरी विगत रहेछ।