प्रत्येक नेपालीको थाप्लोमा साढे ४२ हजार ऋण !

Newslaya Home

प्रत्येक नेपालीको थाप्लोमा साढे ४२ हजार ऋण !

आइतबार १८, साउन २०७७

काठमाडौं । नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो ।

सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय रुपैयाँ सरकारी ऋण पुगेको छ । तर, यस्तो ऋण जनता आफैँले भने तिर्नुपर्दैन । सरकारले हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको सावाँ ब्याज भुक्तानी गर्ने गर्छ ।

सरकारले तलब–भत्तालगायत अनिवार्य दायित्व पूर्ति गर्न तथा आफ्ना योजना र कार्यक्रम कार्यान्वयन गर्न राजस्व परिचालन गर्छ । राजस्व परिचालनबाट अपुग हुने रकम भने आन्तरिक तथा विदेशी (बाह्य) ऋणबाट पूर्ति गर्छ ।