समाज र परिवारले घृणा गरेपछि कोरोना जितेका युवकले गरे आत्महत्या

Newslaya Home

समाज र परिवारले घृणा गरेपछि कोरोना जितेका युवकले गरे आत्महत्या

शनिबार १७, साउन २०७७

जनकपुरधाम । समाज र आफ्नै घरपरिवारले पनि घृणा गरेपछि कोरोना भाइरसलाई जितेका धनुषाका एक युवकले आत्महत्या गरेका छन्। मिथिला विहारी नगरपालिका–२ का ३५ वर्षीय विशेश्वर यादवले शनिबार घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्मत्या गरेका हुन् ।

९ दिन अगाडि उनी नगराइन नगरपालिकास्थित गंगुली आइसोलेसनबाट घर फर्केका थिए । तर, घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि आत्महत्या गर्न बाध्य बनेको स्थानीय एक युवकले बताए । मृतक यादव भारतको राजधानी नयाँदिल्लीमा लामो समयदेखि मजदुरको काम गर्थे । हल्दीराम भुजिया कम्पनीमा काम गर्ने उनको साथीको कोरोनाले मृत्यु भयो । त्यसपछि डराएका उनी गाडी रिजर्भ गरेर घर आए ।

नेपाल प्रवेश गरेलगत्तै उनलाई प्रहरीले गाउँ ल्याएर उच्च माध्यमिक विद्यालय पशुराम तलाउको क्वारेन्टाइनमा राखिदियो । क्वारेन्टाइनमा पिसिआर परीक्षण गर्दा असार ३० गते उनको रिपोर्ट पोजेटिभ आयो । क्वारेन्टाइनका संयोजक बलराम मण्डलका अनुसार पोजेटिभ देखिएपछि उनलाई १४ दिन गंगुली आइसोलेसनमा राखेर घर पठाइएको थियो ।

डिस्चार्ज भएर पुगेपछि पनि उनी परिवारसँग बस्न र छोरा–छोरीसँग रमाउन पाएनन्। घर पुगेपछि उनलाई बाहिरको एउटा कोठामा बस्न भनेको उनकै भतिजा राजीव यादबले बताए । तर परिवार र समाजले घृणा गर्दा उनले आत्महत्या गरेको कुरामा सत्यता नरहेको दाबी गर्छन् ।

मृतकका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सबैभन्दा जेठी छोरी ८ वर्षकी छन् । उनी आत्महत्या गरेपछि छोरा–छोरी विचल्लीमा परेको स्थानीय राजेन्द्र यादवले बताए । उनका अनुसार सामान्य आर्थिक अवस्था रहेको उनका छोरा–छोरीलाई पढ्न लेख्‍न र खानपानमा समेत समस्या हुनेछ ।