भ्रष्टाचार विरोधी उप–सचिव प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्धारा कुटपिट

Newslaya Home

भ्रष्टाचार विरोधी उप–सचिव प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्धारा कुटपिट

शनिबार १७, साउन २०७७

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलमाथि कुटपिट भएको छ ।

शनिबार (आज) आफ्नै कार्यकक्षमा कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले उप–सचिव सञ्जेलमाथि कुटपिट गरेका हुन् ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको बताइएको छ । कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका श्रम कार्यालय स्रोतले जनाएको छ ।
दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला)को बहिनी ज्वाईँ हुन् ।

केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएपछि कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए ।

बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टानै ड्युटीमा लगाएको भन्दै सञ्जेलसँग निरौला आक्रोसित बनेकी एक कर्मचारीले बताए ।
निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन्। काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन् । कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ ।