बीपीबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज

Newslaya Home

बीपीबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज

शनिबार १७, साउन २०७७

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ आइसोलेसनबाट शुक्रबार ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरूमा सुनसरीका र उदयपुरका ४–४ जना रहेका छन् ।

बीपी प्रतिष्ठानमा योसँगै अहिले सम्म २ सय ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको प्रतिष्ठानले जनाएको छ । यसैगरी अहिले सम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ हजार ३९ वटा स्याम्पलको पिसिआर परीक्षण भएको पनि प्रतिष्ठानले जनाएको छ । अहिले प्रतिष्ठानको कोभिड १९ आइसोलेसनमा २९ जना कोरोना संक्रमित उपचाररत छन् ।

यस्तै, शुक्रबार धरान उपमहानगरपालिकाका ३६ कर्मचारीसहित होम, होटेल र एन्फा क्वारेनटाइनमा बसेका ५४ जनाको स्वाब संकलन गरिएको छ । ५४ जना मध्ये १३ नम्बर वडाका कोरोना संक्रमितसँग क्लोज कनट्र्याक्ट रहेका १२ जनाको पनि स्वाब लिइएको छ ।

स्वाब लिइएकामा प्रहरी र नेपाली सेना पनि रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।