१० महिनादेखि रिक्त उपकुलपतिसहित पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

Newslaya Home

१० महिनादेखि रिक्त उपकुलपतिसहित पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

शुक्रबार १६, साउन २०७७

पोखरा । लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । उपकुलपति सहित रिक्त रहेका ९ पदमा तुरुन्त पदाधिकारी नियुक्तिको माग गर्दै नेबि संघ लगायतका बिभिन्न विद्यार्थी संगठनहरूले रिले अनसन गरिरहेको छन् ।

शुक्रबार नबौं दिनमा पनि रिले अनसन जारी रहेको विद्यार्थी नेता राजिव भण्डारीले जानकारी दिए । केन्द्रीय कार्यालयको गेटमा रिले अनशन सुरु गरेका हुन् । आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने विद्यार्थी नेताहरुको भनाइ रहेको छ ।

पोखरा विश्वविद्यालयमा उपकुलति मात्र नभई पोखरा विश्वविद्यालयमा रजिस्टार र परिक्षा नियन्त्रक साथै ४ संकायका डीन पनि खाली रहेका छन् । ५ वटा संकायमा पढाई हुदै आएको विश्वविद्यालयमा ब्यबस्थापन (म्यानेजमेन्ट) संकाय, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकाय, स्वास्थ्य विज्ञान (हेल्थ साइन्सेस) संकाय र मानविकी (ह्युमानिटी एण्ड सोसल साइन्सेस) संकायका डिनहरु रिक्त रहेको छन् ।

विद्यार्थीहरुले उपकुलपति नहुँदा अध्ययन, अध्यापन प्रभावित भएको, परीक्षा हुन नसकेको, परीक्षाफल प्रकाशनलगायतका कार्य समयमा हुन नसकेको पोखरा विश्वविद्यालय अन्र्तगत बिबिए दोश्रो बर्षमा अध्यनरत बिद्यार्थी नेता राजिव भण्डारीले जानकारी दिए ।

विश्वविद्यालयले ४० हजार विद्यार्थीको शैक्षिक भविष्य अन्यौल गरेको विद्यार्थीको आरोप छ । सरकारले उपकुलपति र रजिष्टार नियुक्तिमा चासो नदिएको प्रति आक्रोश ब्यक्त गर्दै आफुहरुलाई ट्रान्सक्रिप्ट तथा सर्टिफिकेट निकाल्न समस्या परेको गुनासो बिद्यार्थीहरुको छ ।