नेपालमा आज अहिलेसम्मकै धेरै पीसीआर परीक्षण

Newslaya Home

नेपालमा आज अहिलेसम्मकै धेरै पीसीआर परीक्षण

शुक्रबार १६, साउन २०७७

काठमाडौँ । नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए । यो अहिलेसम्मकै बढी पीसीआर परीक्षण हो ।

पछिल्लो समय सरकारले पीसीआर परीक्षणको दायरा घटाउँदै लगेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

बिहीबार बसेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले केही दिनदेखि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङमा राजधानी भित्रिने यात्रुहरुको स्वाब संकलन गर्न सुरु गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि असार १५ गतेबाट पीसीआर परीक्षणको दायरा दैनिक १० हजार पुर्‍याउने बताएका थिए । तर स्वास्थ्य मन्त्रीले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने दावी गरेको एक महिनापछि मात्र शुक्रबार १० हजार पीसीआर परीक्षण भएको हो ।