जाजरकोटको एक जंगलमा भेटियो महिलाको शव

Newslaya Home

जाजरकोटको एक जंगलमा भेटियो महिलाको शव

शुक्रबार १६, साउन २०७७

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगा नजिकैको जंगलमा एक महिलाको शव फेला परेको छ ।

भेरी नगरपालिका–३ स्याँलाकी ४५ वर्षीया दुर्पती विश्वकर्माको शव बिहीबार राति गाउँ नजिकैको जंगलमा फेला परेको हो । उनको टाउको र गर्धनमा समेत घरेलु हतियारको चोट रहेको र शवको प्रकृति हेर्दा हत्या गरेर जंगलमा फालिएको देखिन्छ । घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान थालिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए ।

मृतक दुर्पतीका पति पदमबहादुर विश्वकर्माले आफू घरमा नभएको मौका छोपी पत्नीको हत्या गरिएको बताएका छन् । उनका अनुसार आफ्नो बारी हुँदै सडक खन्ने विषयमा स्थानीयसँग विवाद भएको थियो । सडकले धेरै जग्गा मास्ने भन्दै नदिने अडानमा हुँदाहुँदै सडक खनिएको थियो । उनले जबरजस्ती सडक खनिएपछि स्थानीय प्रशासनसँग सुरक्षासमेत मागेकी थिइन् ।

पदमबहादुर अर्की पत्नीसँग अर्को घरमा बस्ने भएकाले उनी घरमा एक्लै बस्दै आएकी थिइन् । केही दिन अघि सोही गाउँका एक पुरुषको पनि शंकास्पद मृत्यु भएको थियो ।