ओखलढुंगाको शिक्षा कार्यालय भवन ६ वर्षदेखि अलपत्र

Newslaya Home

ओखलढुंगाको शिक्षा कार्यालय भवन ६ वर्षदेखि अलपत्र

शुक्रबार १६, साउन २०७७

ओखलढुंगा । जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको निर्माणधिन भवन विगत ६ वर्षदेखि अलपत्र भएको छ ।

निर्माण कम्पनी गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणको काम जिम्मा लिएर काम नगर्दा भवन निर्माण कार्य अलपत्र परेको हो ।

२०७१ असार ३१ गते एकवर्षभित्र सक्नेगरी शिक्षा विभागले ठेकेदारसँग २ करोड ८८ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण सम्झौता गरेको थियो । ठेकेदारको लापरवाहीका कारण ६ वर्ष बित्दासमेत भवन निर्माणको काम सम्पन्न भएको छैन ।

निर्माण सामग्री फिल्डमा पुर्‍याउन समस्या भएको, भूकम्प र नाकाबन्दीलगायतको बहाना बनाउदै ठेकेदारले भवन निर्माणको काम अलपत्र छाडेको हो ।
ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता र स्पष्टीकरण सोधिए पनि काम अगाडि बढ्न सकेको छैन । भवनको जग सम्झौता भएको २ वर्षभित्रै हालिए पनि बाँकी संरचना निर्माण नभएको बताइएको छ ।

शिक्षा विभागमार्फत लागेको सो ठेक्काको काम नभएपछि विभागले पछिल्लो समयमा बजेट पठाउन छाड्दा झनै समस्या भएको हो । भवन निर्माण नहुँदा शिक्षा विकास तथा समन्वय इकाई भाडामा बस्नु पर्दा वार्षिक ८ लाख रुपैयाँ घरभाडा खर्च भइरहेको छ ।