उच्च अदालत जनकपुरधामका न्यायाधीशमा कोरोना संक्रमण

Newslaya Home

उच्च अदालत जनकपुरधामका न्यायाधीशमा कोरोना संक्रमण

शुक्रबार १६, साउन २०७७

धनुषा । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा बिहीबार एक जनाको पोजेटिभ देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।