मोरङमा मास्क नलगाउनेलाई एक महिना कैद

Newslaya Home

मोरङमा मास्क नलगाउनेलाई एक महिना कैद

शुक्रबार १६, साउन २०७७

विराटनगर । मोरङमा मास्क र सेनीटाइजरको प्रयोग नगर्नेलाई एक महिनासम्म कैद सजाय गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको जनाइएको छ ।

कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने बताइएको छ । यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने भएको हो ।