मोरङको बूढीगंगामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

Newslaya Home

मोरङको बूढीगंगामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

शुक्रबार १६, साउन २०७७

विराटनगर । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ मा बिहीबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको साँघुरीगढी गाउँपालिका–७ का २९ वर्षीय जोसन भनिने जसबहादुर राई रहेको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका राईलाई उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा गर्भवती महिलासहित चार जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस राति ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए । उनकाअनुसार लेन छुट्याउन सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको हो ।

हालसम्म परिचय नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको पनि विराटमै उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का २५ वर्षीय रामकुमार राई र २८ वर्षीया कल्पना राई, रामप्रसाद राई गाउँपालिकाका–१ की ३५ वर्षीय मुना राई घाइते भएका छन् ।

कल्पना पाँच महिनाकी गर्भवती रहेकी छिन् । तीनै जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये रामकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।