राष्ट्रिय खेलकुद परिषद्मा ६ सदस्य मनोनीत

Newslaya Home

राष्ट्रिय खेलकुद परिषद्मा ६ सदस्य मनोनीत

शुक्रबार १६, साउन २०७७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा ६ सदस्य मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेल विज्ञ, प्रशिक्षक, प्राविधिक र एन्टिडोपिङ विज्ञका रूपमा ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।

मन्त्री विश्वकर्माले खेल विज्ञ र प्राविधिकका रूपमा रिम रानाभाट र इन्दिरा निरौलालाई मनोनयन गरेका छन् । दुवै जना मन्त्रालयद्वारा गठन गरिएको सदस्यसचिव सिफारिस समितिका सदस्य रहेका थिए । रानाभाट परिषद्का पूर्वकर्मचारी हुन् भने निरौला यसअघि पनि राखेप बोर्ड सदस्य थिइन् ।

यसैगरी राष्ट्रिय खेल संघबाट सिफारिस गरिएकामध्ये अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ । राखेपका पूर्व बोर्ड सदस्यसमेत रहेका केसी नेपाल बक्सिङ संघका उपाध्यक्ष हुन् । यस्तै सम्पन्न नेपाल मुवा थाई संघका कोषाध्यक्ष हुन् भने सुवास नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् ।

यस्तै, परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रूपमा गोविन्द्रप्रसाद भट्टराई मनोनीत भएका छन् । उनी उच्च पर्वतीय खेलकुद महासंघका अध्यक्षसमेत हुन् ।

मन्त्रालयले यसअघि नै उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ । खेलकुद विकास ऐन २०७७ अनुसार राखेप बोर्ड ३७ सदस्यीय हुनेछ । बोर्डको अध्यक्ष खेलकुदमन्त्री रहनेछन् ।