धरानमा अत्यावश्यक बाहेकका पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खुल्ने

Newslaya Home

धरानमा अत्यावश्यक बाहेकका पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खुल्ने

बिहीबार १५, साउन २०७७

धरान । धरान उपमहानगरपालिकामा अत्यावश्यक बाहेकका पसल बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

आज (बिहीबार) बसेको नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले खाद्यन्न तथा औषधी पसल बाहेकका पसल खोल्ने समय सीमा तोकेको हो । यो निर्णय भोली (शुक्रबार) देखि लागू हुनेछ ।

बैठकले समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गर्दै थप संक्रमण फैलन नदिनका लागि यस्तो निर्णय गरेको हो । साथै पसलहरूमा सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतका नियमलाई पनि कडाई गर्ने भएको छ ।

सार्वजनिक सवारीहरूलाई सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र चलाउन दिने, तीन पांग्रे यातायातका साधन शहर बाहिर जान नपाउने भएको छ । यसको अनुगमन नियमित गर्ने निर्णय पनि भएको छ ।

अनुगमनमा मापदन्ड पूरा नगरेको पाइए सञ्चालनमा रोक लगाइने धरान उप–महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।