अब कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमाबारे पढाइने

Newslaya Home

अब कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमाबारे पढाइने

बिहीबार १५, साउन २०७७

काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई नेपालको भूगोल र सीमाबारे जानकारी दिन छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर पठनपाठन गर्न लागिएको हो ।

कक्षा ९, १०, ११ र १२ तथा शिक्षक, विद्यार्थीका लागि बेग्लै रुपमा तयार गरिएको उक्त किताव विद्यार्थीले अनिवार्य रूपमा पढ्ने किताबजस्तो होइन तर आधिकारिक धारणा विकास गर्न विद्यार्थी र शिक्षकले प्रयोग गर्ने सक्ने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

करिब एक सय ५० पेजको यो किताब निःशुल्क हुने बताइएको छ । नेपालको भूगोल र सीमाबारे जानकारी लिन परे आधिकारिकताका लागि यो किताब कक्षामा प्रयोग गर्न सकिने भएको छ ।

लिम्पियाधुरा समेटिएको नयाँ नक्सा आएपछि नक्सालगायत सीमाबारे पनि जानकारी दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सन्दर्भ सामग्री तयार पारिएको हो ।

पछिल्लो समय नेपाल र भारतबीच लिम्पियाधुरा क्षेत्रबारे सीमा विवाद चुलिएको छ । भारतले गत वर्ष जारी भएको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग देखाएको थियो । उक्त क्षेत्र नेपाली भूमि भएको भन्दै नेपालले जेठमा नयाँ नक्सा जारी गरेको थियो ।