बलिउड अभिनेता सुशान्तकी प्रेमिका विरुद्ध उजुरी दर्ता

Newslaya Home

बलिउड अभिनेता सुशान्तकी प्रेमिका विरुद्ध उजुरी दर्ता

बिहीबार १५, साउन २०७७

एजेन्सी । आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका बलिउड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता भएको छ ।

सुशान्तका पिताले आत्महत्या दुरुत्साहनसहित रियाविरुद्ध विभिन्न आरोप लगाउँदै पटनाको एक प्रहरी चौकीमा एफआईआर दर्ता गरेका हुन् ।

एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख गरिएको पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक सञ्जय सिंहले जनाकारी दिएका छन् ।

एफआईआरमाथि अनुसन्धान गर्न पटनाबाट चार सदस्यीय टोली मुम्बई पठाइएको जनाइएको छ ।

‘रिया सुशान्तका साथ रहेकी थिइन् । उनी ८ जुनमा सुशान्तको घरबाट सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्’, उनका पिताले उजुरीमा लेखेका छन्, ‘रियाले मलाई कहीँ फसाउँछे, ऊ यहाँबाट धेरै सामान लिएर गएकी छ भन्दै मलाई छोराले फोन गरेको थियो।’ उनले रियाका कारण आफ्ना छोराले आत्महत्या गरेको आरोप लगाएका छन्।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनको मृत्युपछि रिलिज गरिएको उनी अभिनीत फिल्म ‘दिल बेचारा’ले छोटो समयमा सबैभन्दा बढी हेरिने विश्व रेकर्ड बनाएको छ।