धरानबाट धनकुटा जाँदै गरेको पिकअप सिम्सुवा खोलाले बगाउँदा खाद्यान्न नष्ट

Newslaya Home

धरानबाट धनकुटा जाँदै गरेको पिकअप सिम्सुवा खोलाले बगाउँदा खाद्यान्न नष्ट

बुधबार १४, साउन २०७७

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित ओलुटार–बुधुक सडक खण्डको बीचमा पर्ने सिम्सुवा खोलामा आएको बाढीले खाद्यान्न बोकेको गाडी बगाएको छ ।

धरानबाट खाद्यान्न बोकेर साँगुरीगढीको गुर्धुम जाँदै गरेको को १ ज १५४४ नम्बरको पिकअपलाई सिम्सुवा खोलामा आएको बाढीले मंगलबार राती बगाएको हो ।

खोलामा आएको बाढीले बगाएर पिकअपलाई झण्डै २० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

पिकअप बगाउँदा त्यसमा भएको ठूलो परिमाणको खाद्यान्न नष्ट भएको र मानवीय क्षति भने नभएको बताइएको छ । घटनापछि भेडेटार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । बगेको पिकअपलाई जेसीवीको सहायतामा खोलाबाट निकालिएको भेडेटारका प्रहरी प्रमुख यदु खड्काले जानकारी दिए ।