एमबाप्पे तीन साता मैदान बाहिर रहने

Newslaya Home

एमबाप्पे तीन साता मैदान बाहिर रहने

बुधबार १४, साउन २०७७

पेरिस । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् ।

गत बिहीबार कप डे फ्रान्सको फाइनल दौरान चोट बोकेर तीन साता मैदान बाहिर रहनुपर्ने भएपछि एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वार्टरफाइन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ ।

चोटसँग जुधेसँगै पीएसजीलाई गम्भीर धक्का लागेको छ । पीएसजीले ३१ जुलाईमा फ्रेन्च लिग कपको फाइनल तथा १२ अगस्टमा पोर्चुगलको लिस्वनमा हुने एटलान्टाविरुद्धको क्वार्टरफाइनल खेल गुमाउनेछ । पीएसजी सेमिफाइनल र फाइनल पुगेको अवस्थामा भने टोलीमा उपलब्ध हुने क्लबले जनाएको छ । एटलान्टालाई पराजित गरे त्यसको एक सातापछि (१८–१९ अगस्ट)मा क्लबले सेमिफाइनल खेल्नेछ ।

फाइनल खेल २३ अगस्टमा हुनेछ । सेन्ट एटिएनका कप्तान लोइस पेरिनले एमबाप्पेमाथि निकै गम्भीर फल गरेका थिए । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मद्दतले उपाधि जितेको थियो । एमबाप्पेले खेल दौरान र उपाधि उचाल्दा वैशाखीको सहारा लिएका थिए ।

क्लबले जारी गरेको विज्ञप्तिअनुसार एमबाप्पेको दायाँ खुट्टाको एंकलको एक्स्टर्नल लेटरल कम्पार्टमेन्टमा गम्भीर चोट लागेको छ । चोट पूर्णरूपमा निको हुन कम्तीमा पनि तीन साता लाग्नेछ । एमबाप्पेले यस सिजन ३४ खेल ३० गोल गरेका छन् ।