कोरोना संक्रमणको जोखिम बढेसँगै कटारी बजार बन्द

Newslaya Home

कोरोना संक्रमणको जोखिम बढेसँगै कटारी बजार बन्द

बुधबार १४, साउन २०७७

उदयपुर । समुदायमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि उदयपुरको कटारी बजार बन्द गरिएको छ । जिल्लाको ताप्ली गाउँपालिका–२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै कटारी नगरपालिकाले बजार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना पुष्टि भएकी महिला गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी थिइन् । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रालिले विराटनगर रेफर गरेको थियो ।

उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उपप्रमुख उपमेयर भिमकुमारी राउतले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम न्यूनिकरणका लागि अत्यावश्यक कामबाहेक व्यापार व्यवसाय, सवारी, कार्यालय, होटल व्यवसाय सबै क्षेत्र बन्द गरिएको बताइन् ।

नगरपालिकाले कोरोना नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । मोडल हेल्थ केयर प्रालि शिल गर्दै समुदायमा पहिलो सम्पर्कमा आएकाहरुको खोजि गरी पिसिआर परीक्षण गरिने पनि उपमेयर राउतले बताइन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जिल्ला जनस्वास्थ्यको टोली ताप्ली गएर थप अनुसन्धान गरेपछि मात्रै समुदायस्तरमा संक्रमण देखिएको हो, होइन भन्न सकिने बताए ।

हेल्थ केयर प्रालिका प्रमुख गणेशलाल दासले स्वास्थ्य सुरक्षा अपनाएर ती महिलाको उपचार गरी विराटनगर पठाएको बताए । हाल प्रालिका स्वास्थ्यकर्मी अस्पताल र आफ्नो घरमा क्वारेन्टाइनमा छन् ।