पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक १५ दिनदेखि अवरुद्ध

Newslaya Home

पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक १५ दिनदेखि अवरुद्ध

बुधबार १४, साउन २०७७

संखुवासभा । लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ ।

उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

उत्तर–दक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको इन्जिनीयर श्रेष्ठले बताए । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।

अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको उनले बताए । लगातार वर्षा भइरहेका कारण अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने यकिन हुन नसकेको उनले बताए ।

यस्तै, अविरल वर्षाले खाँदबारी–९ मा रहेको तुम्लिङटार बजारसमेत डुबानमा परेको छ । तुम्लिङटार बजार क्षेत्रका घरमा माटो र ढुङ्गाले बनेका तीन कच्ची घर भत्किएका छन् ।

पहिरोका कारण जिल्ला कारागारसमेत जोखिम परेको छ । पहिरोले चारैतिर तान्न थालेपछि पहिरोको उच्च जोखिममा परेको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए । उनका अनुसार कारागारको माथिल्लो भाग र तल्लो भाग दुवैतिर पहिरोले तान्न थालेको छ । जिल्ला कारागारमा अहिले १२४ कैदीबन्दी छन् ।