भारतलाई दार्चुलाका सिडियोको जवाफ : नेपालको भूमिमा नेपालीलाई कुनै बाधा नगर्नू

Newslaya Home

भारतलाई दार्चुलाका सिडियोको जवाफ : नेपालको भूमिमा नेपालीलाई कुनै बाधा नगर्नू

बुधबार १४, साउन २०७७

दार्चुला । लिम्पियाधुरालगायतका क्षेत्रलाई आफ्नो दावी गर्दै नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको जवाफमा भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको छ । मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई यस्तो जवाफ पठाइएको हो ।

गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखका हुन् ।

पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ ।

भारतले कालापानी क्षेत्र ५८ वर्षदेखि कब्जा गरेको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान अवरोध छ । त्यही क्षेत्रमा नेपालीहरू ‘चोरी–छिपी’ पस्न लागेको भन्दै भारतीय प्रशासनले पत्राचार गरेपछि नेपाली अधिकारी आश्चर्यचकित परेका थिए ।

भारतले कालापानीबाट लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेको छ । त्यसको विरोधमा नेपालले कूटनीतिक नोट पठाएको थियो । १० असारमा भारतले त्यसको जवाफ दिँदै कोरोना महामारी सकिएपछि वार्ता गर्ने बताएको थियो ।