विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका चार जनाको मृत्यु

Newslaya Home

विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका चार जनाको मृत्यु

मङ्गलबार १३, साउन २०७७

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–१ स्याँक्रीकी एकै घरका थप तीन जना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।

बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो ।

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा.पौडेलले बताए ।