बराहक्षेत्रलाई धरानसँग जोड्ने पट्नाली खोलाको पुल बाढीको जोखिममा

Newslaya Home

बराहक्षेत्रलाई धरानसँग जोड्ने पट्नाली खोलाको पुल बाढीको जोखिममा

-बाबुराम कार्की
मङ्गलबार १३, साउन २०७७

प्रकाशपुर । बराहक्षेत्र नगरपालिका १ र धरान उपमहानगरपालिका १७ जोड्ने पट्नाली खोलाको पुल बाढीका कारण जोखिममा परेको छ ।

अविरल वर्षा सँगै पट्नाली खोलामा आएको बाढीले एक वर्ष अघि (२०७६) देखि सञ्चालनमा आएको पुलको छेऊ पट्टिको जाली कटान गर्दा पुल जोखिममा परेको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शुरेसमान श्रेष्ठले जानकारी दिए ।

पुलको अवस्थाबारे अवलोकन गरेर सिडिओ समक्ष समेत जानकारी गराएको र उहाँले तत्कालै सम्बन्धित निकायलाई जानकारी गराउने बताएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उक्त पुलमा थप बाढीको भेल बढेर आएमा पुल सुचारु हुन नसक्ने बताइएको छ । पुलको दक्षिण तर्फको जाली र पहिरो गइरहेकाले जोखिम बढ्दै गएको नेकपाका बराहक्षेत्र इन्चार्ज पुष्प ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार पुलको उत्तर र पश्चिम–पश्चिममा खोलाले कटान गर्दा बस्ती तिर समेत प्रवेश गर्ने जोखिम रहेको छ । बेलैमा सम्बन्धित निकायले कटान रोकथाम नगरे गतवर्ष मात्रै निमार्ण भएको पुल जोखिममा पर्ने बताइएको छ ।

उक्त पुल निर्माण भएपछि चतरा, बराहक्षेत्र लगायतका क्षेत्रका सर्वसाधारणहरुलाई धरान जान साथै कृषि उत्पादन बेचबिखानका लागि सहज बनेको थियो । हाल बाढीका कारण पुल जोखिममा रहँदा आवतजावत बन्द हुन लागेको छ ।