चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना कर्मचारी पक्राउ

Newslaya Home

चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना कर्मचारी पक्राउ

मङ्गलबार १३, साउन २०७७

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयले जनाएको छ ।

अख्तियारका अनुसार सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको हो। सेवाग्राहीसँग घुस लेनदेन गर्न कार्यालय सहयोगी र मोतियार यादवद्वय सेन्चुरी बैंक पुगेका थिए । लगत्तै कारोबार हुनलाग्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

विमानस्थलमा अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ। विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ। पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान भइरहेको जानइएको छ ।