बागलुङमा पहिरोले पुरिँदा ३ जनाको मृत्यु

Newslaya Home

बागलुङमा पहिरोले पुरिँदा ३ जनाको मृत्यु

मङ्गलबार १३, साउन २०७७

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ भने एउटा वेवारिसे अवस्थामा शव फेला परेको छ ।

सोमबार राति तमानखोला गाउँपालिका–२ खोलेस्वाङगमा गएको पहिरोले घर पुरिँदा एकै घरमा दाजु बहिनीको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा स्थानीय पानबहादुर रसाइलीका १३ बर्षीय छोरा खेमबहादुर रसाईली र ११ वर्षीया छोरी रिता रसाइलीको शव फेला परेको जनाइएको छ ।

पहिरोले पानबहादुरकी श्रीमती ३४ बर्षीया होमकुमारी रसाइली घाइते भएकी छन् । रातको समयमा घरमै सुतिरहेको बेलामा आएको पहिरोले दुई बालबालिका पुरिएका थिए भने आमा घाइते अवस्थामा रहेको जनाइएको छ ।

यस्तै निसीखोला गाउँपालिका–१ मा एउटा घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० बर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।