गाउँमा लोकप्रिय बन्दै वायोस्याण्ड फिल्टर

Newslaya Home

गाउँमा लोकप्रिय बन्दै वायोस्याण्ड फिल्टर

- बाबुराम कार्की
मङ्गलबार १३, साउन २०७७

बराहक्षेत्र । प्रकाशपुरका शङ्खर चन्द्रवंशीले कल (टुयाल)को पानी खाएको ४६ वर्ष भयो । तर, कल बाट आएको पानी पिउदा उनलाई कहिले सन्तुष्टी भएन । कलको पानीमा बढी आइरन आउने हुदा पानी राम्रो खान नपाएका शंखर चन्द्रवंशीले पछिल्लो एक वर्ष देखि त्यही कलको पानी पिउदा खुसी छन् ।

शंखर प्रतिनिधि पात्र मात्र हुन् । प्रकाशपुर, महेन्द्रनगर लगायतका क्षेत्रकै अधिकंश कलहरुमा बढी आइरन भएको पानी आउने गरेको छ । शंखरले भने नौ महिना देखि कलको डाइरेक्ट आउने पानी पिउन छोडेको छु । बायोस्याण्ड फिल्टरको प्रयोग गरेर पानी पिउदै आएको सुनाए । उनले भने, ‘गाउँमै ४ हजार रुपैयामा डुलाउदै ल्याएको बायोस्याण्ड फिल्टर किनेर शुद्ध पानीको प्रयोग गर्दै आएको छु ।’

अहिले गाँउमै सवैले शुद्ध पानीका लागि वायोस्याण्ड फिल्टरको प्रयोग गर्दै आएको प्रकाशपुर शान्ति चौेकका विष्णु घिमिरेले बताए । प्रकाशपुर जुगँेचोककै सितारम चन्द्रवंशी, सोतिस चन्द्रवंशीले पनि एक वर्ष देखि वायोस्याण्ड फिल्टरकै प्रयोग गर्दै आएका छन् ।

एक पटकमा १२ लिटर सम्म पानी फिल्टर गर्न सकिने भएकाले एउटा परिवारलाई पानी पिउँनकै लागि एक पटक फिल्टर गर्दै पुग्ने घिमिरे बताउछन् । उनले दुई वर्ष देखि फिल्टरको प्रयोग गर्दै आएको बताए ।

इटहरी ५ बराह टोलका गणेश थापा भन्छन्, यो फिल्टरको अरु पानी छान्ने फिल्टर भन्दा सजिलो र छिटो पानी छान्छ । प्राकृतिक तरिकाबाट फिल्टरिङ हुने भएको हुँदा यसबाट छानेको पानी शुद्ध र मिठो हुने बताउछन् ।

के हो वायोसेण्ड फिल्टर ?
वायोसेण्ड फिल्टरले वालुवाको सतहमा जैविकीय तह निर्माण गरेर पानी शुद्धिकरण गर्छ । १ घण्टामा २४ लिटर पानी शुद्धिकरण गर्ने फिल्टरले आइरन, आर्सनिक, धमिलो र गन्ध आउने पानीलाई शुद्धिकरण गर्ने (एन्फो) वातावरण संरक्षण संस्थाका सायक प्रविधिक अधिकृत हरि बुडाथोकीले वताए ।

उनले भने यो फिल्टरले पानीमा रहेका हानिकारक जिवाणुहरुलाई पनि रोक्ने काम गर्छ । ०.७ एमएम वालुवाको साइज र गिटीहरुको प्रयोग गरेर फिल्टर हुने बुढाथोकी बताउछन् ।

उनले भने, फिल्टरमा पानी हाल्दा माथिल्लो तहमै जिवाणुहरु अड्कन्छन् । २८ दिनमा जैविकीय तह निर्माण हुने हुुँदा माथि अड्किएका जिवाणुहरुलाई तल बनेको जैविकीय जिवाणुहरुले निष्ट गर्ने काम गर्छ । यसरी जैविकीय तह र वालुवाको माध्यमले पानीलाई शुद्धिकरण गर्ने बुढाथोकी बताउछन् ।

सन् १९९३ मा क्यानडाबाट सुरु भएको फिल्टर नेपालमा सन् २००३ बाट वायोसेण्ड फिल्टरको प्रयोग हुन थालेको बुढाथोकीले बताए । उनका अनुसार नेपालमा १ लाख फिल्टर प्रयोगमा आइरहेको र नेपालको विभिन्न स्थानमा गरी ६० ओटा उद्योगहरु सञ्चालनमा आएका छन् । वायोस्याण्ड फिल्टर तीसौं वर्षसम्म टिकाउ हुने र आफैले मर्मत गर्न सकिने हुँदा यो आम उपभोक्तामा लोकप्रिय बन्दै गएको छ ।

स्थानीय स्तरमै उद्योग
सुनसरीको बराहक्षेत्र नगरपालिका ५, कालाबञ्जारमा भरौल वायोस्याण्ड फिल्टर उद्योग ७ वर्षदेखि सञ्चालन गर्दै आएका कृष्ण प्रसाद दाहाल भन्छन्, सुरु सुरुमा उद्योग सञ्चालन गर्दा फिल्टरको माग आएन । छिमेकीहरुलाई नै सुरुका दिनहरुमा प्रयोग गर्न अनुरोध गरे । उनले भने जस्ले यो फिल्टरका बारेमा बुझे उनीहरु खोजी खोजी आउन थाले । सुरुको वर्ष ५० वटा मात्र बिक्रि भयो ।

अहिले उनले दुई जनालाई नियमित रोजगारी दिएर ३ ओटा फर्माबाट सिमेन्ट, वालुवा र गिटी को मिश्रण बाट दैनिक फिल्टर बनाइरहेका छन् । माग बढी आउने गरेकाले समयमा पु¥याउन समेत गाह्रो हुने गरेको दाहालले बताए । उनले गत श्रावण देखि असार मसान्तसम्म ७ सय ३७ ओटा वायोसेण्ट फिल्टर बिक्रि गरेका छन् । प्रतिगोटा ४ हजार ५ सय रुपैयामा फिल्टर, बाल्टी र स्टेन दिने गरेको उनले सुनाए ।