इटहरी–धरान सडकखण्डका १४ सय रुख कटान

Newslaya Home

इटहरी–धरान सडकखण्डका १४ सय रुख कटान

मङ्गलबार १३, साउन २०७७

इटहरी । इटहरी–धरान सडकखण्डका १४ सय रुख काटिने भएको छ । महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको क्रममा इटहरी र धरानको बिच सडकको १४ सय रुख कटानको काम सुरु भएको हो ।

लामो समय देखि ठेक्का नलागेको उक्त ९ किलोमिटर सडकको काम सुरु भएको ६ लेन सडक आयोजना कार्यलय इटहरीले जनाएको छ । तरहरा देखि धरान सम्मको चारकोशे झाडीको सडक भने ४ लेनको मात्र हुने आयोजनाले जनाएको छ । यहाँ धेरै रुख कटान हुने भएको कारण वन विभागले तोकेको भन्दा थोरै रुख काट्ने तयारी गरेको आयोजनाका प्रमुख बताउँछन् ।

वन विभागको स्वीकृतमा सडक विस्तार गर्न चारकोशे झाडीमा पहिलो चोटी एकै पटक १४ सय रुख काट्न लागिएको ६ लेन सडक आयोजनाका प्रमुख वद्रीप्रसाद शर्माले बताए । प्रमुख शर्माका अनुसार सडकको केन्द्र रेखाबाट दायाँ वायाँ ११.५।११.५ मिटर चौडाईमा सडक विस्तार हुनेछ । कालोपत्रे सडक भने इटहरी तरहराकै चौडाईमा हुनेछ । जङ्गलमा ड्रेन तथा फुटपाथ बनाउँनु नपर्ने भएको कारण यो मापदण्डमा सडक विस्तार हुने उनी बताउँछन् ।

मोरङको रानी विराटनगर इटहरी धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । उक्त सडक विस्तारको काम आर्थिक वर्ष २०६९/७० देखि शुरू भएको थियो । शर्माका अनुसार रानी देखि धरान सम्म ४९ किलोमिटर लामो सो सडक मध्ये पटक पटक गरी ३४ किलो मिटरको ठेक्का लागि सकेको छ ।