सप्तरीका कोरोना संक्रमितमा लक्षण देखिन थाल्यो, व्यवस्थापन जटिल बन्दै

Newslaya Home

सप्तरीका कोरोना संक्रमितमा लक्षण देखिन थाल्यो, व्यवस्थापन जटिल बन्दै

सोमबार १२, साउन २०७७

सप्तरी । सप्तरीमा कोरोना भाइरस संक्रमितलाई लक्षण देखिन थालेको छ । यसअघि लक्षण नभएका सङ्क्रमितहरु हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । कतिपय सङ्क्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिए ।

कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन सोमबार सप्तरी पुगेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिंदै डा झाले भने, ‘सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।’ पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितहरुको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए ।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पिसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ भएको डा झाको भनाइ छ ।

प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पिसीआर परीक्षण भइरहेको उनले जानकारी दिए ।

सप्तरीमा देखिएका कूल ४४७ सङ्क्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेशनमा ४२१ जनाले सेवा लिएका छन् । उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी दिए ।

उनले अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १७८ श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्न समस्या भएकाले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए ।