राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा सिलवाल नियुक्त

Newslaya Home

राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा सिलवाल नियुक्त

सोमबार १२, साउन २०७७

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्य–सचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये बाटै मन्त्रिपरिषद्ले सिलवाललाई छनोट गरेको हो । यसअघि पनि उनी नै राखेपको सदस्य–सचिव थिए ।

समितिले सदस्य–सचिवका लागि सिफारिस सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो ।

केशवकुमार विष्टको कार्यकाल गत वर्ष असार ९ गते सकिएपछि सिलवाल सदस्य–सचिवमा नियुक्त भएका थिए । तर, यसै वर्षको असारमा नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनको कार्यकाल एक वर्ष नबित्दै सकिएको थियो ।

त्यसपछि नयाँ ऐनअनुसार मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिले २७ जनाबाट तीन जनाको नाम मन्त्रालयमा पेस गरेको थियो ।

तत्कालीन एमाले युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष हुन् ।

साथै मन्त्रिपरिषद्‌ले आजै राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।